बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालनमा रोक लगाएपछि यात्रुहरू समस्यामा परेका छन् । शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका हुन् । सुदूरपश्चिमका पहाडी क्षेत्रबाट काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ ।
लामो दूरीका बस सेवा बन्द भएपछि यात्रुहरू छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनमार्फत गन्तव्यतर्फ जानुपर्ने बाध्यतामा छन् । कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको बताएका छन् । सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायीले समेत सेवा स्थगित गरेका हुन् । सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रिबस सञ्चालनमा रोक लगाइएको थियो । शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगर्ने निर्णय गरिएको उनले बताए । ‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो, जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ ।’, उनले भने ।
सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौँ र पोखरातर्फ जाने रात्रिबस दुई दिनका लागि सञ्चालन नगर्ने जनाएको छ । धनगढीबाट पोखरातर्फ दैनिक दुई वटा र काठमाडौँका लागि १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए । मौसम प्रतिकूल भएपछि ती बसलाई गन्तव्यतर्फ पठाइएको छैन । यातायात व्यवसायीहरूले खराब मौसमका कारण लामो दूरीको यात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राखेर सेवा स्थगित गरिएको बताएका छन् । मौसममा सुधार आएपछि मात्रै नियमित रूपमा बस सञ्चालन गर्ने उनीहरूको भनाइ छ । पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेकाले सार्वजनिक यातायात सञ्चालनमा समेत सावधानी अपनाइएको छ । व्यवसायीहरूले मौसमको अवस्था मूल्याङ्कन गरेर मात्रै यात्रुलाई गन्तव्यतर्फ पठाउने बताएका छन् । मौसममा सुधार नआएसम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित यातायात कम्पनीसँग बस सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न व्यवसायीहरूले यात्रुलाई आग्रह गरेका छन् ।
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार
स्थानीय शासनमा लैङ्गिक रूपान्तरणबारे जनप्रतिनिधिलाई दुईदिने कार्यशाला
झलारी, कञ्चनपुर । स्थानीय शासन प्रक्रियालाई लैङ्गिक रूपमा थप समावेशी, उत्तरदायी र रूपान्तरणमुखी बनाउने उद्देश्यले साथी संस्थाको आयोजनामा




प्रतिकृया दिनुहोस